अस्ट्रेलिया रोजेका अधिकांश नेपाली विद्यार्थीले पाएनन् भिसा
थानकोट ।
वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट)का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा रिजेक्सन भएको छ । उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्राप्ती भने तुलनात्मक रुपमा केही धेरै छ ।
शैक्षिक परामर्श व्यवसायीहरू अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेको करिब १० प्रतिशतको मात्रै भिसा लागेको छ । उच्च शिक्षाको हकमा भने ५०–६० प्रतिशतको भिसा लागेको छ । ‘पछिल्लो समय अस्ट्रेलिया अध्ययनमा आवेदन गर्ने नेपाली विद्यार्थीको भिसा अस्वीकार अत्यधिक छ । भेट कोर्समा ९० प्रतिशतसम्म भिसा अस्वीकार भएका छन् । उच्च शिक्षामा यो दर ४० प्रतिशत रहेको अनुमान छ,’ राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का अध्यक्ष सन्तोष प्याकुरेलले भने नयाँ पत्रिका दैनिकमा खबर छ ।
अस्ट्रेलियामा विद्यार्थीको भिसा लाग्ने दर कम भएपछि शिक्षा मन्त्रालयबाट एनओसी लिनेको संख्यासमेत घटेको छ । तर, अन्यत्रको तुलनामा अस्ट्रेलिया अध्ययनकै लागि एनओसी लिनेको संख्या धेरै छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा सबैभन्दा बढी झन्डै चार हजारले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । अस्ट्रेलिया अध्ययनका लागि एउटा विद्यार्थीले एकभन्दा बढी एनओसीसमेत लिने गरेका छन् । गत साउनमा अस्ट्रेलियाका लागि चार हजार एक सय तीन, बेलायतका लागि नौ सय २६, अमेरिकाका लागि सात सय ४३, क्यानडाका लागि ६ सय ४५ र कोरियाका लागि दुई सय ६३ ले एनओसी लगेका छन् । अस्ट्रेलियाको बोर्डर खुलेपछि एनओसी लिनेको संख्या निकै बढेको थियो । एकै दिनमा झन्डै १२ सयले एनओसी लगेका थिए । अहिले दैनिक तीन सयको हाराहारीमा एनओसी जारी भएका छन् ।