कीर्तिपुरमा ‘एक घर एक स्नातक’ कार्यक्रम’, नगरबासीलाई स्नातक पढ्न शत प्रतिशत छुट
थानकोट ।
कीर्तिपुर नगरपालिकाले सामुदायिक क्याम्पसमा अध्ययन गर्ने स्नातक तहका विद्यार्थीलाई शत प्रतिशत छुट दिने व्यवस्था गरेको छ । शिक्षामा नगरबासीलाई विशेष छुट व्यवस्था गर्न नगरपालिकाले आइतबार एक कार्यक्रमबीच मंगल बहुमुखी क्याम्पससँग सम्झौता गरेको हो।
स्थानीय विद्यार्थीले कलेजमा भुक्तानी गर्नुपर्ने मासिक पढाइ शुल्कमध्ये ६० प्रतिशत नगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत कलेजले छात्रवृत्ति उपलब्ध गराई निःशुल्क शिक्षा उपलब्ध गराउने सम्झौता भएको हो।
यही आर्थिक वर्षबाट स्नातक प्रथम वर्षबाट छात्रवृत्ति कार्यक्रम सुरू हुने र चौथौ वर्षसम्म निरन्तरता दिइने सम्झौतामा उल्लेख छ। तर मासिक शुल्कबाहेक अन्य विविध अतिरिक्त शुल्क सहुलियतपूर्ण रूपमा कलेजले लिन सक्ने जनाएको छ।
आवश्यकताका आधारमा क्याम्पसले स्तरोन्नतिका लागि नगरपालिकामा कार्यक्रमगत सहयोगका लागि प्रस्ताव राख्न सक्नेछ। त्यस क्याम्पसमा अहिलेलाई मानविकी, व्यवस्थापन र शिक्षा संकायमा यो कार्यक्रम लागू गरिएको हो।