कीर्तिपुर अस्पतालमा कीर्तिपुर बासीहरूका लागि ५० प्रतिशत छुट

Thankot Times

थानकोट ।

कीर्तिपुर अस्पताल औषधोपचार गर्ने कीर्तिपुर बासीहरूका लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध हुने भएको छ ।

सोमबार नगरपालिकाबाट जारी सूचनामा सो नगरपालिका र कीर्तिपुरअस्पताल  बीच भदाै ५ गतेको भएको सम्झाैता अनुसार भदाै ७ गतेबाट कीर्तिपुर नगरमा स्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूले औषधी उपचारमा ५० सम्म छुट दिने बताइएको छ ।

नगरपालिकाले नगरबासी बिरामीहरूको उपचार गरेबापत् अस्पताल व्यवस्थापनका लागि आर्थिक वर्ष २०७९/८० का लागि ८० लाख रूपैयाँ बजेट पनि दिने निर्णय गरेको छ। यसको ५० प्रतिशत अहिले नै उपलब्ध गराउने सम्झौता भएको छ।

नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ। क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुनेछ। यो सेवा सोमबारदेखि नै सुरू हुने सम्झौतामा उल्लेख छ।

भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन सक्ने सम्झौतामा उल्लेख छ। यसरी नगरबासीको उपचार गरेको सम्पूर्ण विवरण प्रत्येक महिना नगरको स्वास्थ्य शाखामा प्रतिवेदन पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

यसपछि हरेक तीन महिनामा दुवै पक्षका प्रतिनिधिहरू समीक्षा बैठकका लागि पनि बस्ने सम्झौता भएको छ।

यस्तै अस्पतालले बिरामी उपचारका लागि प्रतिव्यक्ति अधिकतम ६० हजार रूपैयाँ बहन गर्ने र सोभन्दा बढी खर्च भएमा अस्पतालको दोस्रो पक्ष, जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालले क्याबिनमा बाहेक २५ प्रतिशत छुट दिने पनि सम्झौता भएको छ।

केही कारणवश आर्थिक संकट हुन गएमा नगरपालिकाले समीक्षा गरी थप सहयोग समेत गर्न सक्ने जनाएको छ।

यो सम्झौताको अवधि पाँच वर्षसम्मको हो।

सो सुविधाका लिनका लागि नगरबासीले नगरपालिका कार्यालयमा कार्ड बनाउनु पर्ने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *