मौन अवधि २४ घण्टा बनाउन एमालेको सुझाव
थानकोट ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बहादुर बिष्टले जानकारी दिए ।
आयोगलाई १३ बुँदे सुझाव बुझाएको एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा बढी जुलुस लान नपाउने व्यवस्था हटाउन पनि माग गरेको छ ।
‘उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्नेछ,’ एमालेले आफ्नो सुझावमा भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, अनुमति भन्ने हटाउनुपर्नेछ ।’
यस्तै एमालेले आचार संहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को-को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।