काठमाण्डाै १० मा नेकपा एमालेबाट रामशरण आलेमगरसहित ४ जनाको नाम अगाडी
थानकोट ।
गत आम निर्वाचनमा काठमाण्डाैका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक ५ दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने पक्कापक्की जस्तै छ । उसले २०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग बाम गठबन्धन गरेको थियो, यसपटक भने माओवादी केन्द्रले नेपाली काँग्रेसको सहारा लिएको छ ।
निर्वाचित ६ जनामध्ये माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ नेकपा एस गठन गरेर बाहिरिएका छन् । स्थानीय तह निर्वाचनको परिणाम पनि काठमाडौंमा एमालेले सोचेजस्तो नआएका कारण काठमाडौंको विरासत जोगाउन एमालेलाई मुस्किल देखिएको छ । स्थानीय तहमा वडा तहको मतका आधारमा काठमाडौंका क्षेत्र नम्बर २, ४ र ५ मा मात्र एमालेको अग्रता छ ।
काठमाडौं जिल्लाभर वडाहरुमा दलले पाएको मतका आधारमा कांग्रेस पहिलो देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले जिल्लाभर १ लाख ५७ हजार ३४२ मत पाएका छन् । दोस्रो स्थानमा रहेको एमालेको मत १ लाख ५३ हजार ९१२ मत छ भने तेस्रो स्थानमा रहेको राप्रपाको २६ हजार ९१५ मत छ । नेकपा एस २१ हजार ६२४ मतसहित चौथो स्थानमा छ भने माओवादी केन्द्र १६ हजार मतसहित पाँचौं स्थानमा छ ।
काठमाडौंका १० वटामध्ये क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाहेक अरु क्षेत्रका उम्मेदवार ‘फिक्स’ नरहेको एमाले नेताहरु बताउँछन् । यद्यपि स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ ९ नम्बर र डा.राजन भट्टराई ४ नम्बर पनि लगभग निश्चित छन् । रामेश्वर फुयाल मुख्यमन्त्रीका लागि प्रदेशमै बस्न चाहेकाले ३ नम्बरमा कृष्ण राईको टिकट पनि सुनिश्चित देखिन्छ ।
उम्मेदवारका आकांक्षीहरुले आआफ्नो ढंगले लबिङ गरे पनि जिल्ला पार्टीमा कसैको दाबी नआएको नेकपा एमाले काठमाण्डाै अध्यक्ष दिपक निरौलाले बताए ।
चन्द्रागिरि नगरपालिकाका केही वडाहरू समेत पर्ने क्षेत्र नम्बर ९ मा हालमा माननीय कृष्णगोपाल श्रेष्ठ नै मुख्य दाबेदार हुन् । उनीबाहेक प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य, केशव पोखरेल पनि दाबेदार हुन् । विद्यासुन्दर शाक्यको निर्वाचन क्षेत्र पनि यही हो । स्थानीय तह निर्वाचन २०७९ मा क्षेत्र नं. ९ मा कांग्रेसले १९९१६, एमालेले १९२८२, राप्रपाले २४०१, माओवादीले ६९५ र नेकपा एसले ४६५ मत पाएका छन् ।
यस्तै, क्षेत्र नम्बर १० मा एमाले तुलनात्मक रुपमा कांग्रेससँगै निकै मतले पछि परेको यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट सुरेन्द्र मानन्धर प्रमुख दाबेदार देखिएका छन् । उनी २०७० मा उम्मेदवार बनेर दोस्रो भएका थिए, उक्त चुनावमा नेपाली काँग्रेसका राजेन्द्र कुमार केसीले बाजी मारेका थिए । उनीबाहेक कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, गुञ्जमानसिंह बस्नेत र पुराना नेता रामशरण आलेमगर पनि यस क्षेत्रको टिकटका दाबेदार हुन् । दोश्रो स्थानीय चुनावमा कीर्तिपुर नगरमा भएको अन्तर्घातको आरोपका कारण यो क्षेत्रमा एमालेका नेताहरुबीच मन मिल्न बाँकी छ ।
स्थानीय तह निर्वाचन २०७९ मा दलगत रूपमा क्षेत्र नं. १० मा काँग्रेसले २४६७५, एमालेले १८८३८, माओवादीले ४९४२, राप्रपाले २४९६ र नेकपा एसले १३४२ मत पाएका छन् ।