एकीकृत समाजवादीमा विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेकोलाई टिकटमा प्राथमिकता

Thankot Times

थानकोट ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ। नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ।

‘हामी भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउनेछौं। त्यसका निम्ति सचिवालयले उम्मेदवार छनौट मापदण्ड पनि बनाएको छ,’ समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ। यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई समाजवादीले प्राथमिकता दिने भएको छ।

उम्मेदवार बन्नका निम्ति पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्नेछ। यस्तै आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ। समाजवादीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ। चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्नेछ।

समाजवादीले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गर्ने बताएको छ। उम्मेदवार छनौट गर्दा समावेशी समानुपातिक आधारमा गरिने समाजवादीको निर्णय छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ। यस्तै जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ गतेभित्र सूची पठाउन समाजवादीले भनेको छ।

प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस पठाउनुपर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने समाजवादीको सचिवालयको निर्णय छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *