विदेश पढ्न जाने विद्यार्थीले एक वर्षमा लगे ६८ अर्ब, अधिकांशको रोजाइ अष्ट्रेलिया

Thankot Times

थानकोट ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्षमा ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश पुर्‍याएका छन् । महामारीपछि विदेश जाने क्रम ह्वात्तै बढेकाले गत आर्थिक वर्ष २०७८/७९मा विदेश जाने विद्यार्थीले ६८ अर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि खर्च गरेका हुन्  ।

गत आर्थिक वर्षमा सेवा खाता अन्तर्गत नेपालको भ्रमण व्यय १९६.७ प्रतिशतले बढेर ९७ अर्ब ३२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड पुगेको हो ।

अघिल्लो वर्ष भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रहेको थियो । तर, झण्डै तेब्बरले शिक्षाका लागि विदेशी मुद्रा बाहिररिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो ६ महिनामा मात्रै ८५ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म (१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको थियो ।

यो गत वर्षको तथ्यांक भन्दा करिब दुई गुणा बढी हो । शाखाका एक अधिकारी भन्छन्, ‘गत वर्षमा वर्षभरिको तथ्याङ्क भन्दा करिब दुई गुणा बढी पछिल्लो ६ महिनामा नै देखिएको छ ।’ शाखाका अनुसार १७ पुस २०७७ देखि १६ पुस २०७८ को एक वर्षमा ४५ हजार ८४३ एनओसी जारी भएको थियो ।

गत चैतमा एनओसी लिनेको संख्या अत्यधिक बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले अनलाइनमार्फत मात्रै भेरिफिकेसन गरिरहेको छ ।

अधिकांशको रोजाइ अष्ट्रेलिया

एनओसी लिनेमध्ये सबैभन्दा बढी अष्ट्रेलिया जान इच्छुक भएको एनओसी शाखाले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जारी गरेको ८२ हजार ४०९ एनओसी मध्ये ५९ हजार ७४८ अष्ट्रेलियाका लागि भएका छन् ।

त्यसैगरी जापानका लागि ९ हजार ४३५, अमेरिकाका लागि दुई हजार ४१९, बेलायतका लागि एक हजार ७२२, रसियाका लागि ४४६, थाइल्यान्डका लागि १२२ वटा एनओसी जारी भएको छ ।

तर, एनओसी जारी भएको संख्या बराबर नै नेपाली विद्यार्थी विदेश नजाने शाखाको भनाइ छ । ती अधिकारीले भने, ‘कुनै देश अथवा विश्वविद्यालयमा अध्ययन गर्न जानको लागि एउटा विद्यार्थीले ३ वटासम्म एनओसी लिनुपर्ने अवस्था छ ।’

उनका अनुसार जापान, फ्रान्स लगायतका देशमा जाँदा भाषाका लागि एउटा र एकेडेमिक कोर्सका लागि अर्को गरी दुई वटा एनओसी लिनुपर्छ । त्यसैगरी कुनै विश्वविद्यालयले कोर्सलाई पनि पनि डिप्लोमा र एडभान्स डिप्लोमा गरेर दुई वटा बनाएका हुन्छन् ।

त्यस्तो विश्वविद्यालयमा भाषाका लागि एउटा र दुई वटा कोर्सका लागि दुई वटा नै एनओसी लिनुपर्ने ती अधिकारीले जानकारी दिए । अष्ट्रेलिया जाने अधिकांश विद्यार्थीले एउटा मात्रै एनओसी र कुनै विश्वविद्यालयले भने दुई वटा कोर्स बनाएकाले दुई वटा नै एनओसी लिनुपर्ने शाखाले जनाएको छ ।

आवेदन दिएपछि विश्वविद्यालयले पठाउने अफर लेटरको आधारमा विद्यार्थीले एकदेखि तीनवटासम्म एनओसी लिने गरेका छन् ।

शाखाले २०७७ भदौदेखि अनलाइन मार्फत भेरिफिकेसन दिन थालेदेखि जारी भएको १ लाख ४१ हजार ९९ एनओसीमध्ये करिब ४ हजार एनओसी फिर्ता भएको जनाएको छ ।

एउटा देश अथवा विश्वविद्यालयको लागि जारी भएको एनओसी फिर्ता नभएसम्म अर्को विश्वविद्यालय अथवा देशको लागि एनओसी लिन नपाइने भएकाले कतिपय विद्यार्थीले लिएको एनओसी फिर्ता गरेर अर्को लिने गरेको शाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *