चन्द्रागिरि नगरका यात्रुलाई गाडी पाउन सधैं सास्ती

Thankot Times

थानकोट ।

हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि-१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ। कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन्। उपलब्ध भए पनि समयमा जाँदैन्।

बानेश्वरमा रोजगारी गर्न आउने उनीसँग अरु विकल्प पनि छैन। स्थानीय सार्वजनिक यातायातले दिएको दुःख र हैरानीको सयौँ उदाहरण छ उनीसँग। अर्को सवारी साधन नआइकन नगुड्ने बसका कारण धेरै पटक हाजिरीमा गयल पर्नुपरेको छ कार्यालयमा।

बिहान र बेलुकाको समयमा अत्यधिक भीड हुने भएकाले सवारी साधन चढ्न नै युद्ध जिते जस्तो हुन्छ रे उनलाई। सिट पाउनु त परेको कुरा। भएका सिट पनि घुँडा ठोकिने खालका छन्। यात्रुको पीडा बुझिदिने कस्ले होला? उनको मनमा यस्तै प्रश्न छ तर हालसम्म उनले कहिल्यै जवाफ पाउन सकेकी छैनन्। विशेष गरी काठमाडौं उपत्यकामा चक्रपथभन्दा बाहिर गुड्ने सवारी साधनले दिएको पीडा नभोग्ने सायदै मानिस होलान् तर, यातायात व्यवसायी सेवाका लागि सवारी साधन चलाएका हुन् कि व्यवसायका लागि भन्नेमा नै द्विविधामा छन्।

पछिल्ला दिनमा हरेक १५ दिनमा बललिने भाडाका कारण यात्रु र सवारी साधनका सहचालकबीचको झगडा पनि अर्को समस्याका रुपमा देखिएको छ। नियमानुसार हरेक सवारी साधनमा यात्रुले देख्ने गरी भाडा सूची टाँस्नुपर्छ तर, काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सवारी साधनले त्यस्तो सूची नै राखेका हुँदैनन्।

भेडा बाख्रा कोचेजस्तै गरेर यात्रु ओसार्ने त्यस्ता सवारी साधनलाई कानून कार्यान्वयन गराउन बसेको ट्राफिक प्रहरीले पनि देखेको नदेख्दै गर्ने गरेको मच्छेगाँउबाट हरेक दिन रत्नपार्क रुटमा यात्रा गर्ने यात्रु रामु श्रेष्ठको अनुभव छ। सवारी साधनले यात्रुसँग बढी भाडा उठाइरहेको थाहा हुँदाहुँदै पनि सहन बाध्य भएको उनको भनाइ छ। कारबाही गर्ने कस्ले हो? किन यस्तो भइरहेको छ भन्नेबारेमा राज्यका कुनै पनि निकायले हालसम्म ध्यान दिन सकेको छैन् ।

साँझ परेपछि सवारी साधन नपाउनु अर्को समस्या हो, राजधानीको। ट्याक्सीको मनपरि पनि उस्तै छ। साँझ बिहानको समय कमाउनका लागि हो भने जसरी मनलाग्दी भाडा लिने गरेको भुक्तभोगी यात्रुको भनाइ छ। कानून कार्यान्वयन गर्ने निकायले ध्यान दिन नसक्दा सार्वजनिक यातायातमा मौलाएको विकृति अन्त्य हुन सकेको छैन्।

सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाएको बताएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको यात्रुको भनाइ छ। के सहर, के ग्रामीण क्षेत्र। सबै स्थानमा चल्ने सार्वजनिक सवारी साधन र त्यसका सञ्चालकले दिएको भुक्तमान नभोग्ने सायदै कोही पनि छैन होला। समस्या घट्नुको साटो बरु बढीरहेको छ।

संसारभरका धेरैजसो सरकारले आफ्ना नागरिकलाई उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ सार्वजनिक यातायातमा ठूलो लगानी गरेका छन्। विशेष गरी युरोपेली देशको सार्वजनिक यातायातलाई विश्वकै उत्कृष्ट प्रणालीका रुपमा लिइन्छ । जानकारका अनुसार सार्वजनिक यातायातमा नाफा खोजिँदैन। यो एक प्रकारको सेवा क्षेत्र हो तर, नेपाल जस्ता केही देशमा भने यसलाई नाफा कमाउने व्यवसायका रुपमा चित्रण गरिएको छ। घण्टौँ सवारी साधन रोकेर राख्ने, सिटभन्दा बढी यात्रु चढाउने तथा भाडासमेत मनलाग्दी लिने प्रवृत्ति मौलाएको छ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ