“पर्चा पम्पलेटले कुरूप देखिएका खम्बामा रङ्ग लगाइएको हो”- नगरप्रमुख गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियान सुरू भएको छ ।

सोमबार नगरप्रमुख घनश्याम गिरी तथा ट्राफिक प्रहरी प्रमुख डीआईजी मिरा चाैधरीले सो अभियानको संयुक्त रूपमा सुरूवात गर्नुभएको चन्द्रागिरि नगरपालिका नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ ।

काठमाण्डाै प्रवेश गर्ने प्रमुख सडक नाका चन्द्रागिरि २ नागढुङ्गामा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियानका क्रममा नगरप्रमुख गिरीले डीआईजी मिरा चाैधरीलाई फोहोरमैला सम्बन्धी सचेतनामूलक स्टिकर हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा नागढुङ्गा क्षेत्र हुँदै गुडेका सवारी साधनहरूमा सचेतनामूलक स्ट्रीकर टाँस गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख गिरीले नगरपालिका अब शुन्य फोहोर अवधारणा अभियानमा लागेको र सोको लागि फोहोर व्यवस्थापन गर्न विभिन्न रंगको झोला वितरण प्रक्रिया सुरु हुन लागेको कुरा जानकारी गराउनुभयो। सो क्रममा नगरप्रमुख गिरीले नगरक्षेत्र अन्तर्गत पर्ने राजमार्ग र भित्री सडकमा सञ्चालित सवारी साधनबाट निक्लने फोहोरको व्यवस्थापनको लागि सवारी साधनहरूमा फोहोरदानी (डस्टविन) को व्यवस्थापन गर्ने, गराउने अभियान पनि शुरु भएको जानकारी दिनुभयो।

सो कार्यक्रममा कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखामा कार्यरत विभागीय प्रमुखहरू, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गरिरहेका संघसंस्थाका प्रतिनिधिहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेनाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सामाजिक सञ्जालमा चन्द्रागिरि नगरका मुख्य सडकमा भएका खम्बाहरूमा रङ लगाइएको विषयमा व्यक्त गरिएका प्रतिक्रियाका बारेमा बोल्नु हुँदै नगरप्रमुख गिरीले पर्चा, पम्पलेट लगायतका कागजले फोहोर देखिएका खम्बाहरूमा वातावरण अनुकुलित रङ लगाइएको प्रष्ट्याउनुभयो ।

नगरप्रमुख गिरीले नगरक्षेत्रमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड तथा पम्प्लेटले साैन्दर्यीकरणमा ह्रास आएकोप्रति नगरको गम्भिर ध्यानाकर्षण भएको र सोको व्यवस्थापन सदैव प्राथमकितामा रहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा नगरप्रमुख गिरीले राजमार्गको दायाँबायाँ गरिने अव्यवस्थित पार्किङको समस्या न्युनीकरणका लागि नगरले आवश्यक कार्य सुरू गरिसकेको बताउनुभयो ।

सबै तस्बिरः नगरप्रमुखको सचिवालयबाट साभार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ