नेपाली काँग्रेसबाट काठमाण्डाै १० ‘ख’ मा करिब एक दर्जन नेताको दाबी
थानकोट ।
निर्वाचन आयोगमा मंसिर ४ का लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको कार्य जारी छ । शुक्रबार साँझसम्म आयोगमा ३३ राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकेएको छ ।
सत्ता गठक पाँच राजनीतिक दलहरूबीच २०७४ सालमा प्रत्यक्षतर्फ जसले जहाँ जितेको छ ती ठाउँ सामान्यतः सोही दललाई छाड्ने सहमति जुटाएको बताइएपनि राजनीतिक दलका नेताहरूले भने आफ्नो दाबेदारी प्रस्तुत गरेका विवरण सार्वजनिक भइरहेका छन् ।
सत्ता गठक पाँच राजनीतिक दलहरूबीचको सहमति अक्षरस पालना भएमा काठमाण्डाै प्रतिनिधि सभातर्फ क्षेत्र नंं १० मा नेपाली काँग्रेसले टिकट पाउने छ जहाँ सो पार्टीका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसी गत निर्वाचनमा जित हासिल गरेका थिए ।
यहि निर्वाचन क्षेत्रको प्रदेशतर्फ क मा नेपाली काँग्रेसकै पुकार महर्जनले बाजी मारेका थिए जसअनुसार यो क्षेत्र पनि नेपाली काँग्रेसकै भागमा पर्नेछ । यस्तै प्रदेश ‘ख’ अन्तर्गत यसअघि तत्कालीन नेकपा एमालेकी रमा आलेमगर विजयी भएकीमा आले हाल माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा प्रवेश गरेसँगै यो क्षेत्र नेकपा एसको पोल्टोमा पर्ने देखिन्छ ।
सो पार्टीबाट आलेमगर दोहोरिन इच्छुक रहेको बुझिएको छ । चन्द्रागिरि नगरका २ देखी ११ वडासम्मका क्षेत्र पर्ने यस निर्वाचन क्षेत्रमा नेकपा एसले बैशाख महिनामा सम्पन्न स्थानीय निर्वाचनमा खासै मत ल्याउन सकेको छैन् ।
यसैबीच काठमाण्डाै निर्वाचन क्षेत्र नं. १० ‘ख’ मा उम्मेदवारी दिन नेपाली काँग्रेसका करिब १ दर्जन नेताहरूले आकांक्षा राखेको बताइएको छ । सो पार्टीका काठमाण्डाै क्षेत्र नंं १० ‘ख’ का सभापति धर्मनन्द श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति धर्मराज केसी लगायतका नेताले आसन्न प्रदेश सभा निर्वाचनमा दाबी पेश गरेको बुझिएको छ ।