काठमाण्डौसहित धेरै ठाउँमा रातभर वर्षा : ढलसँगै बगेको फोहरले सडक अस्तव्यस्त

थानकोट ।
काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा गएराति ठूलो पानी परेको छ ।
वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र प्रदेश-१ सहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो । ती नदीमा पानीको सतह बढेको छ ।
मनोहरामा जलसतह बढेपछि बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएरातिको पानीले काठमाण्डौमा थुप्रिएको फोहर यत्रतत्र बनाएको छ । सडकमा थुप्रिएको फोहर ढलसँगै बगेको छ ।
अहिले काठमाण्डौ उपत्यकामा पानी पर्न रोकिएको छ । अरु प्रदेशमा पनि हल्कादेखि मध्यमखालको पानी परेको छ । जोखिम बढेकाले साना नदीहरुमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।
आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का एक/दुई ठाउँमा मध्यम पानी पर्ने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । आउँदाे ३ दिनसम्म प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।