फिफा विश्वकपको तालिका हेरफेर, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने

थानकाेट ।
कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ ।
यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरू हुने तालिका थियो । उक्त तालिका संशोधन गर्दै फिफाले एक दिन अघि अर्थात नोभेम्बर २० बाटै विश्वकप सुरू हुने तालिका निकालेको हो।
पहिलो खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ। यसअघिको तालिका अनुसार नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो। कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रूपमा हुँदै थियो।
विश्वकपको पहिलो खेलमा आयोजकले खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ।
घरेलु टोली कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि तालिका हेरफेर भएको हो।