मेयरका छोरा, ज्वाइँ र प्रमुख प्रशासकीय अधिकृतका सालोलाई नगरपालिकामा जागिर
थानकोट ।
करारमा भर्ना गरे पनि वर्षौंदेखि नगरपालिकामा कार्यरत कर्मचारी हटाएर मेयर र अधिकृतका आफन्तलाई भर्ना गरिएपछि रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद सिर्जना भएको छ।
नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले कुनै प्रक्रिया पूरा नगरी नियमविपरीत पुराना कर्मचारीलाई हटाउने र आफन्त र आफू निकटका कर्मचारीलाई भर्ना गरेपछि विवाद उत्पन्न भएको हो।
नगर उपप्रमुख कल्पना हरिजनलगायत बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्ना छोरा, ज्वाइँ र सालोलाई भर्ना गरेर कर्मचारी नियुक्तिमा मनपरी गरेको बताएका हुन्।
हरिजनले गत असार ३० गतेको नगर सभामा कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने विषयमा कुनै प्रस्ताव र छलफल समेत नगरी असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय भन्दै साउन १ गतेदेखि पुराना ९ जना करारका कर्मचारी हटाएर कुनै प्रक्रिया समेत पूरा नगरी साउन १५ गतेदेखि १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन्।
तर असार ३१ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार कर्मचारी हटाउने र भर्ना गरिएको भए पनि ३० गतेको नगर सभापछि कार्यपालिका बैठक नबसेको र त्यस्तो कुनै पनि निर्णय नगरिएको हरिजनले दाबी गरिन् सेतोपाटी अनलाइनमा खबर छ ।
हरिजनका अनुसार नयाँ भर्ना गरिएका १३ जना कर्मचारीमा नगर प्रमुखका छोरा जमिल अहमद खान, नातिनी ज्वाइँ जावेद आलम र प्रमुख प्रशासकीय अधिकृतका सालो विभास त्रिपाठी समेत रहेका छन्।