ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड
थानकोट ।
बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका सवारी साधन तथा उपकरणहरूमा सोमबार राती तोडफोड भएको छ ।
२ वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो । वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राई भन्नुहुन्छ, ‘राती ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता एकिन हुन्छ ।’ उहाँले पछिल्लो सूचनाका बारेका जानकारी दिँदै भन्नुभयो, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।’
तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडीहरुको शिशा फोडिएको छ ।
समय क्रममा सबै कुरा बाहिर आउँछन् । अहिले यति भनौँ, आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ् सेन्टर आफू अनुकुल सञ्चालन गराउन चाहन्छन् । लम्साल भन्नुहुन्छ, ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो कुरा व्यक्तिगत लाभका लागि सोच्नेहरुका लागि पचेको छैन ।’
तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन् ।