काठमाण्डाै क्षेत्र नं. ९ मा काँग्रेस पच्छ्याउँदै एमाले, १० मा काँग्रेस अन्य दलभन्दा निकै अघि

Thankot Times

थानकोट ।

आसन्न संघ र प्रदेशको निर्वाचनमा कस्ता उम्मेदवारका लागि जनमत माग्ने भन्ने विषयमा दलहरूमा छलफल घनिभूत रूपमा अघि बढिरहेको छ ।

२०७४ को निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ ठाउँमा एमाले विजयी भएको थियो। तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर निर्वाचनको माहोल आफ्नो पक्षमा पारेका थिए। काठमाडौंमा माओवादी उम्मेदवार भने सबै क्षेत्रमा पराजित भएका थिए। माओवादीको भागमा परेका क्षेत्र १, ६ र १० तीनै वटामा माओवादी पराजित भएको थियो भने काठमाडौंमा ४ मा गठबन्धनका बाबजुद् एमाले पराजित भएको थियो। एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ मा फराकिलो अन्तरले कांग्रेसलाई हराएको थियो। यो बीचमा नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग भएका छन्। एमालेबाट २४ सांसदसहित माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि अलग भएको छ।

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने काठमाडौंमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत निकै कम छ। यी दुई पार्टीकै हाराहारीमा राप्रपासमेत छ भने उसले कतिपय क्षेत्रमा यी दुई पार्टीलाई जितेको छ।

स्थानीय तहको निर्वाचनमा काठमाडौंका १० क्षेत्रमा पर्ने सबै वडाहरूमा आएको मतको विश्लषण गर्दा नेपाली कांग्रेस एक्लै ७ स्थानमा बलियो देखिएको छ। उसले क्षेत्र नं १, ३, ६, ७, ८, ९ र १० मा एमालेलाई पछि पारेको छ। क्षेत्र नं २, ४ र ५ मा एमाले अगाडि छ।

बैशाख महिनामा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ का स्थानीय तहमा पर्ने वडाहरूमा कांग्रेसले १९ हजार ९ सय १६ मत ल्याएको छ भने एमालेले १९ हजार २ सय ८२ ल्याएको छ। राप्रपाले २ हजार २ सय १ मत छ। नेकपा माओवादी केन्द्रले ६ सय ९५ र नेकपा एकीकृत समाजवादीले ४ सय ६५ मत ल्याएका छन्।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्। यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याएका थिए। कांग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए। स्थानीय तहको निर्वाचनको नतिजाको सारांशलाई आधार मान्ने हो भने यस क्षेत्रमा नेपाली काँग्रेस तथा नेकपा एमालेले बराबरीको अवस्थामा देखिएका छन् ।

अजय क्रान्‍ती शाक्‍यले यस क्षेत्रको प्रदेश अन्तर्गत नं. ९ क बाट ९५३१ मतसहित पहिलो हुँदा नेपाली काँग्रेसका इन्द्रमान तुलाधर ७१९३ मत सहित दोश्रो स्थानमा रहेका थिए । सो चुनावमा विवेकशील साझा पार्टीका चक्र पाणि नेउपानेले ३३६९ मत पाएका थिए । यस्तै यस क्षेत्रको प्रदेश अन्तर्गत नं. ९ ख बाट केशव प्रसाद पोखरेल १२१५६ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका धर्मराज गाैतमले ९११० मत प्राप्त गरेका थिए ।

काठमाडौं क्षेत्र नं १० मा पर्ने स्थानीय तहका वडाहरूको मतलाई आधार मान्दा नेपाली कांग्रेस एमालेभन्दा धेरै अगाडि छ। कांग्रेसले २४ हजार ६ सय ७५ मत ल्याएको छ भने एमालेले जम्मा १८ हजार ८ सय ३८ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत ल्याएको छ। यो क्षेत्रमा चन्द्रागिरि नगरपालिकाका २ देखि ११ नम्बरसम्मका वडा, कीर्तिपुर र दक्षिणकाली नगरपालिका पर्छन्। यो क्षेत्रमा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका थिए। दोस्रोमा रहेका तत्कालीन बाम गठबन्धनका माओवादी उम्मेदवार हितमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका थिए।

नेपाली काँग्रेसका पुकार महर्जनले काठमाण्डाै क्षेत्र नं. १० क मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका दिलिप महर्जनलाई १०१२ मतले पराजित गरेका थिए भने तत्कालीन नेकपा एमालेकी रमा आले मगरले काठमाण्डाै क्षेत्र नं १० प्रदेश ख मा ९९०३ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका धर्मनन्द श्रेष्ठ ७०१७ मत सहित दोश्रो स्थानमा रहेका थिए । आले अहिले नेकपा समाजवादीमा छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *