अब कर बुझाउन कै लागि चन्द्रागिरि नगरपालिकाको कार्यालयसम्म धाउन नपर्ने

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले समयानुकुल प्रविधिमैत्री सेवाको विकासमा तिव्रता दिएको छ । केही समय अघि क्यासलेस कारोबार सुरू गरेको नगरपालिकाले जबाट अनलाईन कर भुक्तानी प्रणालीको सुरूवात गरेको हो । यो सँगै अब चन्द्रागिरि नगरपालिकालाई बुझाउनु पर्ने विविध शीर्षकका कर बुझाउन वडा वा नगर कार्यालयको काउण्टरसम्म धाउन पर्ने झन्झटको अन्त्य भएको छ ।

चन्द्रागिरि नगरपालिका कार्यालयको कर संकलन प्रणालीलाई सहज बनाउने उद्धेश्यले  सेवाग्राहीले बुझाउनु पर्ने विविध शीर्षकका करहरू (सम्पत्ती कर, मालपोत कर, व्यवसाय कर, घर जग्गा बहाल कर लगायत) अब डिजिटल वालेटको माध्यमबाट तिर्न सकिने प्रणालीको विकास गरि आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम गिरीले अनलाईन कर भुक्तानी प्रणालीको सुरूवात गर्नुभएको हो । 

नगरका विविध शीर्षकका करहरू अब सेवाग्राहीले विभिन्न डिजिटल वालेटहरु कनेक्ट आइपिएस, खल्ती, प्रभु पे, आइएमी पे, इसेवा लगायतबाट सोझै भुक्तान गर्न सकिने बताइएको छ । यी वालेटहरू उपयोग गरी सेवाग्राहीले छिटो छरितो सेवा लिन पाउने तथा समय र थप आवतजावत गर्दा हुने खर्च समेत बचत हुने विश्वास नगरले लिएको नगरप्रमुख घनश्याम गिरीले बताउनुभयो । कार्यक्रममा बोल्नु हुँदै नगरप्रमुख गिरीले संवृद्ध चन्द्रागिरि निर्माणमा समानुकुल प्रविधिको प्रयोग निकै फलदायी हुने बताउनु हुँदै आम नगरबासीहरूमा प्रविधिको भरपुर उपयोग गरी घरबाटै नगरबाट प्रदान हुने सेवा लिन अनुरोध समेत गर्नुभयो । 

नगरको अनलाइन कर भुक्तानी प्रणालीको शुभारम्भ कार्यक्रममा नगर उप प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बसन्ती श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, नगरका वडा अध्यक्षहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, वडा तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा रहेको थियो । 

अब वालेट एप्लीकेशन भित्र रहेको चन्द्रागिरि नगरपालिकाको लिंकमा गई सोझै करदाता संकेत नं राखी सेवाग्राहीले कर तिर्न सक्ने नगपालिकाले जनाएको छ।  यी सेवा लिंदा कुनै अतिरिक्त शुल्क लाग्नेछैन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *