अब नलिन्चोकमा हेलिपोर्ट (हेलिकप्टर बिसाैनी)
थानकोट ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ ।
सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये टर्मिनल भवन र टावर निर्माणमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हेलिप्याण्ड निर्माणका लागि भने १५ करोड रुपैयाँ विनियोजन भएको थियो ।
अहिले त्रिभुवन विमानस्थलमा भइरहेको जहाजहरुको चाप घटाउन यो संरचना सहयोगी हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट पार्किङ वे नजिकै हेलिकप्टरहरुको पार्किङ भइरहेको छ ।
नयाँ हेलिप्याण्डमा इन्धनको सुविधा, आगलागीसहित आकस्मिक उद्धारका उपकरण, यात्रुका लागि टर्मिनल, हेलिकप्टर कम्पनीका कार्यालय तथा हेलिकप्टर मर्मत गर्न मिल्ने ह्यांगरसहितका संरचना बन्ने भएको छ । हेलिकप्टरको बिसौनी भक्तपुर सरेपछि अहिले हेलिकप्टर बिसान भइरहेको स्थानमा प्राधिकरणले ठूला जहाज पार्किङ गरेर राख्न स्थान बन्ने छ ।
अहिले नेपालमा ११ वटा हेलिकप्टर कम्पनी दर्ता भई नियमित सञ्चालनमा छन् । यी कम्पनीसँग २९ वटा हेलिकप्टर रहेका छन् । दुर्गम भेगमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्नु, पर्यटकको आगमन बढ्नु, दुर्गम भेगमा विकास निर्माणका गतिविधि बढ्नु र विपद् तथा आकस्मिक स्वास्थ्य समस्याका बेला बढ्दो मागले नेपालमा हेलिकप्टर विजनेश फस्टाउने क्रममा छ ।