पिच गर्न माग गर्दै स्थानीयले गरे नख्खु-भैंसेपाटी सडक अवरूद्ध

थानकोट ।
सडक पिच गर्न माग गर्दै ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जाने बाटो स्थानीयले अवरूद्ध गरेका छन्।
शनिबार बिहान ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जानेबाटो पिच गर्न भन्दै सडक अवरूद्ध गरेका हुन्।
वडा नम्बर १८, २१, २२ र २५का स्थानीयले मिलेर बाटो छेकेर अवरूद्ध गरेका थिए। उनीहरूले अवरूद्ध गरेको सडक अहिले खुलिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए।
स्थानीयले बिहान ९ बजेदेखि ११ बजेसम्मको लागि सडक अवरूद्ध गरेका थिए।
पिच नभएसम्म विरोध प्रदर्शन जारी नै राख्ने स्थानीयले बताएका छन्। स्थानीय राजन थापाका अनुसार सडक आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म बनिसक्नुपर्ने थियो। तर सरोकारवालाहरूले सडक निर्माण समयमै नगरेको हुँदा अवरूद्ध गर्न बाध्य भएको उनले बताए।
‘६ वर्षदेखि निर्माण हुनुपर्ने सडक बनेको छैन। नबनेपछि हामी जनता जागेका हौं,’ उनले भने। यसरी अबदेखि दिनदिनै प्रदर्शन गर्ने उनले बताए।
‘सडक निर्माण नहुँदा सम्म हामी हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सडक अवरूद्ध गर्छौं,’ उनले भने।