साफ यू-२० च्याम्पियनसिप: नेपाल र बंगलादेशबीचको खेल बराबरीमा

Thankot Times

थानकोट ।

भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको छ ।  ।

फाइनलमा स्थान पक्का गर्न बंगलादेश विरूद्धको खेल जित्नै पर्ने अवस्थामा रहेकोले अंक साटेपछि नेपाल प्रतियोगिताबाट करिब बाहिरिएको छ, अब लिगको अन्तिम खेलमा माल्दिभ्सले भारतलाई पराजित गरेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ ।  खेलको दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले तीन रातो कार्ड देखाएका थिए ।

बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड खाँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।

खेलको ४८ औं मिनेटमा बंगलादेशका कप्तान तनवीरले सहायक रेफ्रीसँग आक्रोशित रुपमा प्रस्तुत भएपछि नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए । त्यसपछि दुवै टोलीका खेलाडी एक आपसमा झगडामा उत्रिए । केहीबेरमा नै दुवै टोलीका बेन्चका खेलाडी पनि मैदान प्रवेश गरेर झगडा गर्न थाले । दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए ।

झगडाका दौरान नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी लड्न पुगेका थिए । रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *