साढे २ करोड बीमा रकमको लोभमा आफ्नै पतिलाई सवारी दुर्घटनामा पारेर हत्या !

Thankot Times

थानकोट ।

२ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या गराएको खुलेको छ ।

बाँके कोलपुरकी एक युवतीले २ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या गराएको खुलेको हो । गत वैशाख २ गते मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका ११ बस्ने सर्जन विकलाई मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

उक्त दुर्घटना बीमा रकम लिने उद्धेश्यले नियोजित रूपमा गराइएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले उक्त हत्यामा संलग्न रहेको आरोपमा मृतककी पत्नी २१ वर्षकी सपना मल्ल, स्याङ्जा वालिङ ६ घर भई हाल बाँकेले कोहलपुर ११ बस्ने ३१ वर्षीय सन्जीव अर्याल, कोलहपुर १५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर ११ का ३८ वर्षीय दीपक केसी र कोहलपुर १ की २१ वर्षीय आरती भन्ने ललिता सापकोटा रहेका छन् ।

उनीहरूलाई विभिन्न मितिमा विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत बैशाख २ गते भे १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार विकलाई बैजनाथपुर ६ लालपुरमा भित्री सडकमा विपरीत दिशाबाट आइरहेको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिएको थियो । उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनापछि मिनीबस चालक टोपबहादुर राना क्षेत्रीले सवारी दुर्घटना गराएको कसूरमा ३० दिन कैद र २० हजार रुपैयाँ जरिबाना तिरेर निस्किएका थिए । तर, उनी बाहिर आएपछि मृतक विकको जीवन बीमा वापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्सबाट लिएर उनकी पत्नीसहित पक्राउ परेका व्यक्तिहरूले बाँडफाड गरी लिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

त्यसक्रममा एक महिना अघि मात्र विवाह गरेकी आफ्नै पत्नी सपनासहितका व्यक्तिहरूले जीवन बीमावापतको रकम लिनकै लागि उनको नियोजित ढंगले हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *