काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्यो
थानकोट ।
काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो ।
फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो ।
महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा लेखिए अनुसार बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिएको हो ।
एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरुमा फोहोर थुप्रिदाँ दुर्गन्ध फैलिएको छ । वर्षा पनि भइरहेकाले फोहोरबाट लिचेट बगेकाले त्यसले विभिन्न रोगको संक्रमणको पनि जोखिम बढाएको छ।