तालिम कार्यक्रममा स्थानीय निकायको मनपरि खर्च, एक कप चियाको दुई सय ९० रुपैयाँ

Thankot Times

थानकोट ।

तालिम कार्यक्रममा सहभागि भएकाहरूका लागि आयोजकले कति मूल्यको चिया खुवाउलान् ? पत्याउनुहुन्छ सप्तरी जिल्लमा भएको एक तालिम कार्यक्रममा आयोजकले प्रतिकप २ सय ९०  रूपैयाँको चिया खुवाएको बिल गाउँ पालिकामा पठाएको भेटिएको छ । सामाजिक जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न गरेबापत मनलाग्दी बिल पठाएर गाउँपालिकाबाट भुक्तानी लिएको भेटिएको हो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गाउँपालिकाले प्रत्येक तालिममा केन्द्रलाई चियाखर्चबापत प्रतिकप दुई सय ९० रुपैयाँका दरले भुक्तानी दिएको छ । आर्थिक वर्ष ०७७/७८ को ११ र १२ असारमा कोभिड-१९ रोग रोकथाम, नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरेबापत गाउँपालिकाबाट सामाजिक जीवन केन्द्र नेपालले चार लाख ९९ हजार नौ सय ९९ रुपैयाँ भुक्तानी लिएको खबर आजको नयाँपत्रिकामा छ ।

यस तालिमका क्रममा चियाबापत प्रतिकप दुई सय ९० रुपैयाँ, चिसो प्रतिबोतल एक सय ५० रुपैयाँ र पानीको प्रतिबोतल ६० रुपैयाँ खर्च लागेको गाउँपालिकामा पेस गरिएको बिलमा उल्लेख छ । केन्द्रले त्यही वर्ष १५ र १६ असारमा अर्को तालिम सञ्चालन गर्‍यो । यतिवेला उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको थियो । यस तालिमबापत पनि गाउँपालिकाले केन्द्रलाई चार लाख ९९ हजार नौ सय ९९ रुपैयाँ भुक्तानी दिएको छ । उक्त बिलमा पनि चियाखर्च प्रतिकप दुई सय ९०, चिसो प्रति बोतल एक सय १५ र पानीको प्रतिबोतल ६० रुपैयाँ उल्लेख छ ।

युवा अभियन्ता श्याम यादवले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेर अनियमितता गरेको प्रतिक्रिया दिएका छन् । जनताको सुविधाभन्दा आफ्नै सेवासुविधा थप्नमा जनप्रतिनिधि र कर्मचारी लागेको उनले बताए ।

‘बडो गज्जबको कुरा हो, एक कप चियाको कति पर्छ, सबैलाई थाहा छ १५ रुपैयाँ, तर दुई सय ९० रुपैयाँ खर्च गरिएको छ, यो सरासर लुट हो । एउटा चिसोको ३५ रुपैयाँ पर्छ, तर गाउँपालिकाले एक सय १५ दिएको छ । यो प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको खुलेआम लुट हो,’ उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *