ठूलो आवाज निकाल्ने ८९ वटा मोटरसाइकल कारबाहीमा
थानकोट । काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने बुलेट र क्रसफायर लगायतका मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सोमबार ८९ वटा मोटरसाइकल लाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएका प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने १९ वटा बुलेट र क्रसफायर मोटरसाइकललाई कारवाही गरेका छन् । मोडिफाइ गरेको कसुरमा चालकलाई पहिलोपटक ५ सय जरिवाना गरिएको सो कार्यालयले जनाएको छ । चेकजाँचको क्रममा रोयल इनफिल्ड (बुलेट) मोटरसाइकलको साइलेन्सको पछाडि पातामा रबर राखेर ठुलो आवाज निकाल्ने गरेको भेटिएको छ । उपत्यकामा रहेको ट्राफिक प्रहरीका ४६ वटा युनिटले कारवाही तिब्र बनाएका छन् ।