साफ यू-२० च्याम्पियनसिप: नेपालको सुखद सुरूवात

Thankot Times

थानकाेट ।

साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। सोमबार भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो।

नेपालले खेलको ४१ मिनेटमा अग्रता लियो। नेपालका लागि दिपेश गुरुङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

त्यसअघि कर्नर एसियाबाट कप्तान आयुष घलानले प्रहार गरेको फ्रिकिकलाई माल्दिभ्सका गोलकिपर शैहन अलीले पञ्च गरेका थिए। जसमा दिपेशले उत्कृष्ट गोल गर्न सफल भए।

नेपालले ५८ मिनेटमा अग्रता दोब्बर पार्‍यो। नेपालका लागि सुगम सुवालले दोस्रो गोल गरे।

६१ मिनेटमा नेपालले पेनाल्टीमार्फत तेस्रो गोल गर्‍यो। नेपालका लागि कृतिश रत्न छुन्जुले पेनाल्टीमा गोल गर्न सफल भए।

कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।

नेपालका लागि चौथो गोल मनग्य नकर्मीले दोस्रो हाफको इन्जुरी टाइममा गरेका थिए।

अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ। नेपालले ३१ जुलाईमा भारतसँग तेस्रो खेल खेल्नेछ भने समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग हुनेछ।

समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *