भक्तपुर सल्लाघारीमा रूखले किच्दा ३ जनाको ज्यान गयो, जरैदेखि ढलेको थियो रूख
थानकोट ।
भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको हो। रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको हो।
लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो।
रूख ढलेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। चिकित्सकले घटनामा परेका तीन जनाको मृत्यु भएको घोषणा गरेका छन्।
‘उनीहरूको अवस्था चिन्ताजनक थियो। अस्पतालमा चिकित्सकले घोषणा गरेको छ,’ उनले भने।
मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेको छैन्। मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ बस्ने २५ वर्षीय विशेष खर्बुजा छन्। अन्य दुई जना पनि पुरूष नै छन्।
त्यहाँबाट १५ जनाको उद्धार गरी अस्पताल पठाएको थियो। घाइतेहरूको इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको हो।
प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार बस बायाँ लेनबाट जाँदै थियो। बस काठमाडौंबाट दुधपाटीतिर जाँदै थियो। स्कुटर भने दुधपाटीबाट सल्लाघारीतर्फ आउँदै थियो।
रूख भने दायाँपट्टीबाट ढलेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रूखको जरा कमजोर भएर ढलेको देखिएको उनले बताए।
‘पूरानो सल्लाको रूख हो। एकदमै ठूलो पनि छ। यसको जरा एकदमै कमजोर देखियो। वर्षाका कारणले रूख जरैबाट ढलेको देखियो,’ डिएसपी पाण्डेले भने,‘दायाँ पट्टी भएको रूख ढलेर बाँया पट्टीको बसलाई किच्नु भनेको ठूलो रूख हो। जरैदेखि ढलेको देखिन्छ।’
रूख ढलेपछि सडक अवरूद्ध भएको छ। अहिले क्रेन लगाएर रूख र बसलाई हटाउने काम पनि भइरहेको छ।