चन्द्रागिरि नगरमा शुन्य फोहोर अभियान सुरू, फोहोर राख्न नगरले झोला निःशुल्क उपलब्ध गराउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादन फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन भोलि (श्रावण ४) बाट नगरमा शुन्य फोहोर अभियान सुरू गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकामा फोहोर मैला व्यवस्थापन बापत कति तिर्नुपर्छ शुल्क ? हेर्नुहोस् नगरसभाले पारित गरेको दररेट

चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले नगरको शुन्य फोहोर अवधारणालाई साकार गर्नका लागि फोहोर मैलालाई वर्गीकरण गरि राख्न अनुरोध गरेको छ ।
नगर कार्यपालिका मंगलबार बसेको बैठकको निर्णयअनुसार अब नगर बासीहरूले कुहिने फोहोर कालो झोलामा, सिसा र सिसाजन्य फोहोर रातो झोलामा, प्लाष्टिकजन्य फोहोर हरियो झोलामा, फलामजन्य फोहोर नीलो झोलामा तथा स्यानिटरी प्याड तथा डाइपर पहेँलो झोलामा छुट्टाएर राख्नुपर्नेछ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै नगरले उक्त रङका झोलाहरू सम्बन्धित वडा कार्यालय तथा टोल सुधार समितिहरूबाट निःशुल्क उपलब्ध हुने बताइएको छ ।

सो सूचनामा वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर संकलकलाई दिन भनिएको छ भने फोहोर वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाले भदाै १ गतेबाट जरिवाना तिराउने समेत जनाइएको छ । चन्द्रागिरि नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार हाल चन्द्रागिरि नगरमा विभिन्न ६ वटा संस्थाले फोहोर संकलन गर्दै आएका छन् ।

गत शनिबार काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहसँगको भेटमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले फोहोर व्यवस्थापनमा चन्द्रागिरिले काठमाण्डाै महानगरलाई सघाउ पुर्याउने बताउनुभएको थियो ।

मेयर बालेन्द्र शाह चन्द्रागिरि नगरमा (फोटो फिचर)


Leave a Reply

Your email address will not be published. Required fields are marked *