राहत भागबण्डामा जनप्रतिनिधिबीच कुरा नमिलेपछि कुटाकुट, १८ जना घाइते

Thankot Times

थानकोट ।

विपन्नहरुले पाउने राहत रकम वितरण कार्यमा भएको भागवण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा नवलपरासी जिल्लाको सरावल गाउँपालिका- ५ मा कुटाकुट भएको छ। जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका छन्। जसमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि रकम वितरणका लागि आएको नाममा विवाद हुँदा बिहीबार राति भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन्। रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नम्बर २ को) कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताएको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला सम्पन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो।

विवादपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको कुटाकुटमा परी घाइते भएका १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) ऋषिराम कँडेलले बताए। घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ।

दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन्। टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ