‘उज्यालाे चन्द्रागिरि अभियान’ चन्द्रागिरि नगरमा १५ हजार सडक बत्ति जडान गरिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले ‘उज्यालाे चन्द्रागिरि अभियान’ अन्तर्गत नगर क्षेत्रमा १५ हजार थान सडक बत्ति जडान गर्ने भएको छ । नगरप्रमुख घनश्याम गिरीले शुक्रबार चन्द्रागिरि  २ पिपलामोड क्षेत्रमा सडक बत्ति एवं सिसी क्यामेरा जडान एवं विस्तार कार्यको अनुगमन गर्ने क्रममा सो बताउनुभएको हो ।

त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगर क्षेत्रभित्र पर्ने कलंकी-नागढुङ्गा-पिपलामोड खण्डमा पहिलो चरणमा करिब ५०० थान सडक बत्ति तथा ८० वटा उच्च प्रविधिकाे सिसी  क्यामरा जडान भइसकेका छन् । नगरप्रमुख गिरीले  यसै वर्ष आवश्यकता अनुसार उक्त राजमार्ग र नगरका अधिकांश मुख्य र भित्री मार्गहरूमा पनि सडक बत्ती जडान गर्ने कार्य गरिने बताउनुभयो ।

आफ्नाे पहिलाे कार्यकालमा नगरका सबै वडाहरूलाई सडक बत्ति जडान गर्न बजेट विनियाेजन गरेको बताउनु हुँदै नगरप्रमुख गिरीले सो बखत करिब ८ हजार थान सडक बत्ति विभिन्न वडामा जडान भएकाे समेत जानकारी दिनुभयो । सो क्रममा नगरप्रमुख गिरीले उज्यालाे चन्द्रागिरि अभियान अन्तर्गत करिब १५ हजार थान सडक  बत्ति नगरका मुख्य तथा भित्री सडक, धार्मिक तथा सांस्कृतिक स्थल, पार्क लगायतका सार्वजनिक स्थलहरूमा जडान गरिने साथै  यस अभियानले निरन्तरता पाउने समेत बताउनुभयो ।

उज्यालो चन्द्रागिरि अभियानसँगै नगर क्षेत्रका मुख्य चोक तथा सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा फ्रि वाईफाई जडान हुनेछन् । यस्तै, नगरका मुख्य तथा सहायक सडक तथा मुख्य मुख्य स्थलहरूकाे गतिविधि नियमनका लागि सिसी क्यामेरापनि जडान हुने बताइएको छ । नगरप्रमुख गिरीले हाल नगर क्षेत्रमा जडान भएका सिसी क्यामेराको सहायताले सवारी दुर्घटना, चाेरी डकैती तथा अवाञ्छित गतिविधि नियन्त्रण एवं न्युनीकरणमा सहायता पुगेको बताउनु हुँदै  नगरबासीले सुरक्षित र प्रविधिमैत्री नगरपालिकाकाे अनुभूति गर्ने वातावरण श्रृजना गर्नेतर्फ नगरले सदैव ध्यान दिने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *