बचतकर्ताको १८ करोड हिनामिना गर्नेलाई ७ वर्ष कैद र २१ करोड जरिवाना
थानकोट ।
निक्षेपकर्ताको करोडौँ पैसा हिनामिना गरेको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड बढी जरिवाना र ७ वर्ष कैद सजाय फैसला भएको छ।
घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख रुपैयाँ जरिवाना र ७ वर्ष कैद सजायको फैसला अदालतले गरेको छ।
मंगलबार उच्च अदालत तुलसीपुरले अन्तिम फैसला गर्दै बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना तथा ३ करोड ५० लाख बिगो जरिवानासहित कुल २१ करोड ५३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।
उनले विभिन्न व्यक्तिको नाममा ३६ वटा नक्कली कर्जा खाता तयारी गरी रकम हिनामिना गर्ने बदमासी गरेको भन्ने कुरा फैसलामा उल्लेख रहेको अदालतका अदालतका रजिष्ट्रार यामबहादुर बूढामगरले बताए।
दाङमा केन्द्रीय कार्यालय रहेको साबिक वेष्टर्न डेभलपमेन्ट बैंक मर्जपछि भएको देव विकास बैंकको नारायणपुर शाखामा १८ करोड हिनामिनाको मुद्दा उच्च अदालतमा परेको थियो।
रकम हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले अन्तिम फैसला यसअघि सुनाएको थियो ।
जसमध्ये ३३ जनालाई एकै साथ जरिवाना र कैदको फैसला भएको उच्च अदालतले जनाएको छ। अदालतका मुख्य न्यायाधीश नीता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको इजलासले बैंकका शाखा प्रबन्धकसहित अन्य ३३ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो।
जसमा शाखा प्रबन्धक र अन्य अधिकांश सबै खातावालहरू कारबाहीमा परेका छन्। नक्कली खाता सञ्चालकका नामबाट रकम निकासा भई बैंकिङ कसुर भएको पाइएको अदालतको फैसलामा उल्लेख छ।
बुढाथोकी साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीको दुरुपयोग गरी ३६ वटा नक्कली कर्जा खाता खोलेर १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबर रकम हिनामिना गरेको देखिन आएको फैसलामा उल्लेख छ।