झरीले बाटो बिग्रिएपछि टेकुमा प्लास्टिकले छोपियो फोहोर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लास्टिकले छोपेको छ । वर्षाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को सचिवालय सदस्य इन्जिनियर सुनील लम्सालका अनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेसनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो ।

“यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लास्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेसनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ,” उनले भने, “प्लास्टिकले छोपिएको ट्रान्सफर स्टेसन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेसनको एक साइटमा राखेर ढुवानी गरिँदै छ । आज घाम लागेको छ । थप गाडी परिचालन गर्नेछौँ र स्टेसनमा फोहोरको मात्रा घटाउनेछौँ ।”

ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजना अनुरूप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्यान्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेसनमा फोहोर बाँकी हुने गरेको छ ।

यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि, जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । यहाँबाट फोहोर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ