अब गुर्जुधारामा निलो माइक्रोका सट्टामा विद्युतीय ट्याक्सी

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा नीलो माइक्रो हटाएर विद्युतीय ट्याक्सी थपिने भएको छ। २० वर्ष पुराना निलो माइक्रोलाई बागमती प्रदेश सरकारले सट्टाका रुपमा ट्याक्सी दर्ता गर्ने भएको हो।

साना गाडीका कारण ट्राफिक चाप बढ्दै गइरहेको उपत्यकामा बागमती सरकारले ग्यासबाट चल्ने २० वर्ष पुराना सार्वजनिक सवारीलाई हटाई त्यसको सट्टा विद्युतीय ट्याक्सी दर्ता गर्ने मापदण्ड बनाएको छ।

सन् १९९८ मा ग्यासबाट चल्ने तीनपांग्रे ट्याम्पो र २००० देखि ग्यासबाट चल्ने निलो माइक्रो काठमाडौंमा सञ्चालनमा आएका थिए। केही टेम्पो विस्थापन भए पनि सबै हटिसकेका छैनन्। ब्याट्रीबाट चल्ने सफा टेम्पो पनि गुडिरहेका छन्।

व्यवसायीका अनुसार काठमाडौंका सडकमा करिब ३ सय निलो माइक्रो गुड्छन्। सबैभन्दा बढी बौद्ध रुटमा करिब १३० वटा चल्छन्।

त्यसपछि कलंकीमा करिब १०७ वटा र गुर्जुधारामा ४० वटा चलिरहेका छन्।  लगनखेल र नारायणथान रुटमा थोरै संख्यामा निलो माइक्रो छन्।

निलो माइक्रो सुजुकी कम्पनीका हुन्। २० वर्षअघि इन्डोनेसियाबाट यी गाडी व्यवसायीले ल्याएका हुन्।

कलंकी निलो माइक्रो सार्वजनिक यातायात प्रालिका सञ्चालक समिति सदस्य परशुराम पुडासैनीले ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विद्युतीय बनाउने सुने पनि कार्यान्वयनमा गइनसकेको बताएको नेपालखबरमा समाचार छ ।

‘बागमती प्रदेशले विद्युतीय ट्याक्सीमा जान दिने सुनेका थियौँ’, उनले भने, ‘ट्याक्सीवालाले विरोध गरेपछि कार्यान्वयनमा जान नसकेको बुझेका छौँ।’

व्यवसायीहरुका अनुसार ग्यासका साधनलाई तत्कालीन श्री ५ को सरकारले प्रदूषणमुक्त भनी प्राथमिकता दिएको थियो। तर, २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सवारीसाधनलाई २ वर्षभित्र विस्थापन  निर्णय गर्यो।

यसअनुसार कालो र हरियो नम्बर प्लेटका सबै गाडीमा २० वर्षे हदम्याद लाग्ने र कालो नम्बर प्लेटका विद्युतीय माध्यमबाट चल्ने गाडीमा ३० वर्षे हदम्याद लागू भएको थियो। सरकारले निजी सवारीसाधनमा २० वर्षे हदम्याद तोकेको छैन्।

सार्वजनिक यातायातभन्दा कम चल्ने र प्रदूषण कम गर्ने आकलनमा निजीलाई हदम्यादमा राखिएको छैन्।

सांकेतिक तस्बिर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *