‘चन्द्रागिरि हिल्सका ६५ प्रतिशत कर्मचारी स्थानीय’- अध्यक्ष ढकाल

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरि हिल्समा कार्यरत कर्मचारीहरू मध्ये ६५ प्रतिशत कर्मचारीहरू चन्द्रागिरि नगरबासी भएको बताउनुभएको छ ।

चन्द्रागिरि नगर क्षेत्रभित्रका उद्योगीहरूको छाता संगठन चन्द्रागिरि नगर उद्योग वाणिज्य संघले सोमबार स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले सो बताउनुभएको हो । चन्द्रागिरि हिल्समा दैनिक सरदर २ हजार आगन्तुकहरू पुग्ने बताउनु हुँदै नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका ढकालले स्थानीय उत्पादन बिक्रीका लागि छुट्टै कक्षको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सो कार्यक्रममा बोल्नु हुँदै नगरप्रमुख घनश्याम गिरीले नगरको आर्थिक विकासका लागि नगर उद्योग वाणिज्य संघको अहम भूमिका रहने धारणा राख्नुभयो । यस्तै, नगरउपप्रमुख बसन्ती श्रेष्ठले नगरका महिलाहरूलाई आर्थिक गतिविधिमा सकृय राख्न आफ्नो कार्यकालमा विशेष जोड दिइने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठले कलंकी-नागढुङ्गा सडक खण्डको विस्तारको विवाद निरूपण नभएसम्म नगरले आर्थिक संवृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठको सभापतित्वमा सञ्चालित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख तथा सबै पन्ध्र वडाका वडाध्यक्षहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य संघ तथा माताहतका संघहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरका जनप्रतिनिधिहरूलाई नगर उद्योग वाणिज्य संघको सम्मान (फोटो फिचर)

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *