बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल आज

थानकोट ।
दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
खेल कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहेर पुलिस र एपिएफले फाइनलमा भिडन्त पक्का गरेका हुन् ।
राउन्ड रोविन लिगकै अन्तिम खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएर अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । एपिएफ दोस्रो भएर फाइनलमा पुगेको हो ।
राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका २४ खेलाडीले भने यो प्रतियोगितामा खेलेका छैनन् । सिनियर र युवा खेलाडीको प्रदर्शनले खेल रोचक र प्रतिस्पर्धात्मक हुने सम्भावना छ ।
त्यसअघि दिउँसो १ बजे तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माध्यविक विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोविन लिगमा डायमन्ड तेस्रो तथा परोपकार अंक विहीन हुँदै पुछारमा रहेको थियो ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै पुलिस, एपिएफ र परोपकारको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।