त्रिभुवन पार्कको जग्गा दुरुपयोगबारे अख्तियारले थाल्यो छानबिन
थानकोट ।
सरकारी स्वामित्वको थानकोटस्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गा निजी कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सरकारलाई थाहै नदिई पार्कको जग्गा एनजिओले भाडामा लगाएको सम्बन्धमा सञ्चारमाध्यममा समाचार प्रकाशन, प्रसारण भएपछि त्यसैलाई उजुरी मानेर आयोगले छानबिन अघि बढाएको हो ।
समाचारकै आधारमा आयोगले उजुरी दर्ता गरेर त्यसबारे राय-प्रतिक्रिया पठाउन बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयलाई पत्र पठाएको छ । आयोगले १५ दिनभित्र जवाफ पठाउन भनेको स्रोतले बताएको नयाँ पत्रिकामा खबर छ ।
कार्यदल गठन भई त्यसले कार्य प्रारम्भ गरेको र प्रतिवेदन प्राप्त भएपछि रायसहितको जवाफ पठाउने जवाफ मन्त्रालयले आयोगलाई पठाएको स्रोतले बतायो । ‘अहिले कार्यदलले पार्कको विषयमा छानबिन गरिरहेको छ,’ स्रोत भन्छ, ‘प्रतिवेदन प्राप्त भएपछि प्रतिवेदनसहित राय पठाउने पत्र अख्तियारलाई पठाइएको छ ।’
पार्कको रेखदेख गरिरहेको सहिद स्मारक प्रकृति प्रतिष्ठानले सरकारलाई थाहै नदिई प्रतिरोपनी नौ हजारका दरले एक्सेलसियर इन्फर्मेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्न प्रालिलाई २० वर्षका लागि भाडामा लगाएको छ । संघीय सरकारमातहत हुँदै २९ मंसिर ०७३ मा प्रतिष्ठान र प्रालिबीच लिज सम्झौता भएको थियो । पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सम्झौता गैरकानुनी भएको दाबी गर्दै आएका छन् । तर, प्रतिष्ठानले पनि यसलाई कानुनसम्मत नै भनेको छ ।