वर्षा बाधक बन्दा नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

थानकोट ।
नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।
मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । तर दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो ।
नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो ।
फाइनल शनिबार हुँदा रिजरभ डे थिएन । अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि खेल दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैको कारण नेपाल र युएईबीचको खेल रद्ध भएको हो । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन् ।
युएईकी ओपनर ईशा रोहित ओझाले २१ बलमा २ चौकासहित सर्वाधिक १५ रन बनाइन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका लागि ३.१ ओभरमा १५ रनको साझेदारी गरेका थिए । सतिशलाई तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ५ रनमा बोल्ड आउट गरिन् । उनले ८ बलमा १ चौका प्रहार गरिन् । त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपाल सतिशलाई रन आउट गर्ने अवसर गुमाएको थियो ।
अश्मिनाको नै छैटौं ओभरको पाँचौं बलमा ईशा ओजा १५ रनमा कभरमा संगिता राईबाट क्याच आउट भइन् । अघिल्लो खेलमा ईशाले कतारविरुद्ध १ सय १५ रनको शतकीय इनिङ खेलेकी थिइन् । सीता रााना मगरले सातौं ओभरको तेस्रो बलमा काविशा एगोडागेलाई तीन रनमा एलबीडब्लू आउट गर्दै राम्रो सुरुवात दिलाएकी थिइन् ।
त्यसपछि मध्यगतिकी बलर इन्दुले तीन विकेट लिँदै युएईलाई सस्तैमा रोकिन् । इन्दुले १२ औं ओभरको दोस्रो बलमा खुसी शर्मालाई १२ रनमा अश्मिनाबाट क्याच गराइन् । १४ औं ओभरको अन्तिम बलमा कप्तान चया मुघललाई १४ रनमा संगिताबाट क्याच गराउँदै युएईलाई ५३–५ को अवस्थामा पुयाइन् ।
इन्दुले नै १६ औं ओभरको पाँचौं बलमा समिरा धर्निधर्काकालाई ७ रनमा एलबीडब्लू आउट गरेकी थिइन् । नेपालकी अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । उनी अञ्जली चन्द र नेरी थापापछि पाँच विकेट लिने तेस्रो नेपाली महिला खेलाडी हुन् । इन्दु बर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।
युएई समूह ए मा ४ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा थियो । युएई र ओमानबीचको खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । सिंगापुरलाई १० विकेट, मलेसियालाई ३१ रन र कतारलाई १ सय ५३ रनले हराउँदै युएई समूह विजेता बनेको थियो ।
अंक तालिका
हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कुवेत ४ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । भुटान ४ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रह्यो । बहराइन खेलमा २ मा हारका साथ १ अंकसाथ पुछारमा रह्यो ।
युएई समूह ए मा ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । कतार ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ४ खेलमा २ अंकका साथ चौथो र ओमान ४ खेलमा १ अंकका साथ पुछारमा छ ।