चन्द्रागिरि नगरमा वडागत रूपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरू
थानकोट । चन्द्रागिरि नगरपालिकामा वडागत रूपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको कार्य सुरू हुने भएको छ । चन्द्रागिरि नगरका १५ वडा मध्ये केहिमा आजबाट विवरण संकलन सुरु हुने सम्बन्धित वडाका वडाध्यक्षहरुले थानकोट टाइम्सलाई जानकारी दिएका छन् । आजबाट चन्द्रागिरि १, २, ३, ६, ८, ९, १४ र १५ मा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु हुँदैछ । अन्य वडाहरुमा पनि राष्ट्रिय परिचयपत्रकाे विवरण संकलनका लागि तयारी भइरहेको बताइएको छ ।
राष्ट्रिय परिचयपत्र लिनका लागि नेपाली नागरिकता प्रमाणपत्र/राहदानी अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भने विवाहित व्यक्तिले नागरिकता प्रमाणपत्र/ राहदानीका अतिरिक्त लागि विवाह दर्ता प्रमाणपत्र तथा बसाँइसराई गराएका नागरिकहरूका लागि बसाँइसराईको प्रमाणपत्र समेत सक्कल नै पेश गर्नुपर्नेछ । तथापि केहि वडा कार्यालयहरुले भने संलग्न गर्नुपर्ने कागजातकाे संख्या बढाएका छन् । त्यस्तै, एक महिलाहरूका लागि श्रीमानको मृत्यदर्ताको प्रमाणपत्र तथा एकल पुरूषका लागि श्रीमतीको मृत्युदर्ताको प्रमाणपत्रको सक्कल पेश गर्नु पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । त्यस्तै नगरप्रमुख घनश्याम गिरीले सबै नगरबासीहरुमा सम्बन्धित वडामा पुगि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन अनुराेध गर्नुभएको छ ।