अखिल फुटबल संघको निर्वाचन आज- अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षको कार्यकालका लागि सोमबार केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि सोमबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने पक्का रहँदा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव राज पौड्यालले पनि चुनौती पेश गरेका छन् । समूह बनाएर चुनावी माहोल आफ्नो पक्षमा पार्न क्याम्प नै खडा गरेका कारण अध्यक्षमा कर्मा र पंकजबीच नै तीव्र प्रतिस्पर्धा हुने पक्का छ । पौड्याल स्वतन्त्र उमेदवार हुन् ।

कर्मा र पंकजले २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन् । साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको छ । १५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । सदस्यमा मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवालले प्यानलविनै उमेदवारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *