नागढुंगा-नौबिसे सुरूङ मार्गको भौतिक प्रगति ३५ प्रतिशत

Thankot Times

थानकोट ।

नागढुंगा-नौबिसे सुरूङ मार्गको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको बागमती प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म सुरूङ मार्गको कुल भौतिक प्रगति ३५.५० प्रतिशत र कुल वित्तीय प्रगति ४५.५० (मोविलाइजेशन सहित) प्रतिशत रहेको छ ।

जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणबाट नागढुंगा-नौबिसे सुरूङ मार्ग निर्माणको क्रममा रहेको छ । काठमाडाैं उपत्यका भित्रिन प्रयोग हुने मुख्य नाकामा निर्माणाधिन २.६८ किलोमिटर लामो यस सुरूङ मार्गको कुल अनुमानित लागत १७.०९ अर्ब (मुआब्जा बाहेक) रहेको छ । मुआब्जा रकम सरकारले आफ्नो स्रोतबाट र सुरूङ निर्माण जाइकाको सहुलियत ऋणबाट उपयोग गरिनेछ ।

दहचोकदेखि धादिङको सिस्ने खोलासम्म निर्माण गर्ने लक्ष्य रहेको यो सुरूङ मार्ग ३.५ मिटरका दुइवटा लेन र १.५ मिटर चौडाइको इमर्जेन्सी ट्रयाक रहने यस सुरुङको चौडाइ ९.५ मिटर र उचाई ५ मिटरको हुनेछ । जापानी कम्पनी हाज्माले ४२ महिनामा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्ने गरी यो परियोजनाको ठेक्का जिम्मा दिइएको छ । चालु आवको बैशाखसम्म मुख्य सुरूङ १२०४ मिटर (खन्ने काम) र सहायक इभ्याकुएसन सुरूङ १४१९ मिटर (खन्ने काम) सम्पन्न भएको छ ।

सुरूङमार्ग निर्माण पश्चात् बाटोको दुरीमा २.३८ कि.मि.ले कमी आउने, काठमाडौ भित्रिन २३ मिनेट र बाहिरिन १४ मिनेट समय बचत हुने तथा सवारी दुर्घटनामा ५० प्रतिशत कमी हुने आँकलन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ