नेपाललाई भारोत्तोलनमा ऐतिहासिक स्वर्ण दिलाउने सञ्जु चौधरी मृत फेला

थानकोट ।
एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।
केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षीया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्।
एसियाली खेलकुदमा छनोट भएसँगै उनी केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन काठमाडौं आएकी थिइन्।