नेपाल र जिम्बावे ए बीचको टी-ट्वेन्टी सिरिज बराबरीमा

थानकोट ।
नेपाल र जिम्बावे ए टीम बीचको अन्तिम खेलमा नेपालले ८ विकेटको जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एमाथि सो अन्तरको जित दर्ता गराएको हो । यो सँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए । ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए । ल्यूक जांगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे ।
१ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे ।
पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए ।
कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।
अव तीन एकदिवसिय अभ्यास खेल हुनेछ । नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय अभ्यास खेल शुक्रबार हुनेछ । एकदिवसिय सिरिजको लागि भने नेपालले फरक टोली घोषणा गरेको छ ।