थानकोटमा राज्यले काठमाण्डाै आउने यात्रीका लागि निःशुल्क मालपुवा बाँड्दथ्यो
वि.सं. २००४ सालमा केही समय नेपाल बसेका भारतीय भिक्षु ग्यागर लामा (डा. भिक्षु धर्मरक्षित)ले नेपाल बस्दाको अनुभव पुस्तक मार्फत साटेका छन् । त्यो समयको नेपाल पुस्तकमा उनले नेपालमा रहँदा देखेको, भोगेको र अनुभुत गरेको कुरा वर्णन गरेका छन् ।
भारतको वैशालीबाट नेपाल (काठमाण्डाै) यात्रा सुरू गरेको लामाको टोली चाैथो दिन चन्द्रागिरि भञ्जाङ कटेर थानकोट आइपुग्दछ ।
…. ११ बजे हामी हामी चन्द्रागिरिबाट ओरालो लागेर थानकोट पुग्याैं । यहाँ मैले नेपाली शैलीमा बनेको सुन्दर चैत्य देखें । चैत्यको तखतामा भगवान् को मूर्ति पनि राखिएको थियो ।
थानकोटको एक दोकानमा हामीले दूध र चिउरा खायाैं जहाँबाट नेपाल अझै पाँच माइल टाढा छ । यात्री ओसार्न भनेर काठमाण्डाैबाट यहाँसम्म लरी दाैडिन्छन् । थानकोटमा राज्यले काठमाण्डाै आउने यात्रीका लागि निःशुल्क मालपुवा बाँड्दोरहेछ तर हामीले पेटपूजा गरिसकेकाले उनीहरूको आग्रह अस्वीकार गर्दै अघि बढ्याै । थानकोटमा अधिकांश मानिस पलेटी मारेर चिलिम तानिरहेका देखिन्थे ।
थानकोटबाट अलिक पर्तिर हिँडेपछि सडकको बायाँतर्फ बलम्बु गाउँ देखियो । यस गाउँमा भदन्त कर्मशीलजी बस्ने ‘प्रसिध्दिपूर्ण महाविहार छ’ । पुरानो भएपनि यो विहार तीनतले छ । विहारमा पुगेपछि हामीले भरियाको फाराममा हस्ताक्षर गरेर उनीहरूलाई बिदा दियाैं । उनीहरूले चिसापानीमा रहेको भरिया नायक अड्डामा हामीले हस्ताक्षर गरेको फाराम बुझाएपछि मात्रै ज्याला पाउँदथे । भरियाले सामान चोरी नगरून्, सामान गायब नपारून् भनेर यस्तो नियम बनाइएको रहेछ ।
बलम्बु सानो भएपनि नेपाल उपत्यकाको पुरानो गाउँ हो । यो गाउँको चारै कुनामा अझैपनि ठूला प्रवेशद्वारको भग्नावशेष देख्न सकिन्छ । यहाँ प्राचीन चैत्य र मूर्ति अझै पनि पर्याप्त मात्रा देखिन्छन् ।
गाउँको चारैतिर खेत छन् । ती खेतमा गहुँ र जाै को लहललाउँदो बाली सुन्दर देखिन्छ । लामो समय हिँडेका हामी एकैछिनमा निदाएछाैं । अर्को बिहान सामान त्यहीं छाडेर हामी आनन्दकुटीको बाटो लाग्याैं । धम्मलोकले भरिया पठाएर सामान ल्याउने वाचा गरे ।
बलम्बु गाउँका प्रत्येक घरमा तोरीका सुकेका पात झुण्ड्याइएका थिए । ती पात देख्दा मलाई लागेको थियो, यहाँका घरमा केही पूजा चलिहरेको छ । तर, पछि पो थाहा पाएँ यी पात उमालेर खानका लागि सुकाइएका हुन् । यसरी तोरीका पात सुकाइएका मैले नेपालमा अधिकांश घरमा देखें ।
बलम्बुबाट हामी नैकाप, कालीमाटी हुँदै स्वयम्भू डाँडामा रहेको आन्दकुटीतर्फ लाग्याै । कालीमाटीको माटो निकै उब्जाउ माटो मानिँदो रहेछ । यहाँ आलु, मकै, जाै निकै फल्ने रहेछ । हामी वैशालीबाट नेपाल हिँडेको छैटाैं दिन स्वयम्भूस्थित आन्दकुटी पुग्याै । ……
फोटो श्रोतः हिराकाजी