सोमबार दिउँसोको वर्षाले पानीघाटका दुई घरमा क्षति (तस्बिर कथा)
थानकोट ।
सोमबार दिउँसो परेको पानीका कारण चन्द्रागिरि ४ पानीघाटका दुई घरमा बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ।
स्थानीय हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए।
बाढी पसेको खबरपछि साँझ ५ बजे प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयसहित २० जनाको टोली र सेनाको टोली खटिएको थियो। बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको मैनालीले जानकारी दिए।
त्यस्तै सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएका छन्।
त्यस घरमा एक लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।