स्थानीय तह निर्वाचनः चन्द्रागिरि नगरको उपमेयर हुने दाउमा को-को ?

Thankot Times

थानकोट ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले नाम दर्ता गरिसकेका छन् । आज उनीहरूले दर्ता गरेको नाम उपर दाबी विरोध पेशको कार्य भएको छ ।

सोमबार अबेर सकिएको उम्मेदवारको मनोनयन दर्ताको सूची मतदान अधिकृतको कार्यालयमा टाँस गरिएको छ ।

चन्द्रागिरि नगरपालिकास्थित निर्वाचन अधिकृत सिर्जना थपलियाले दिनुभएको जानकारी अनुसार चन्द्रागिरि नगरका विभिन्न ७७  पदका लागि ३ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसको बुधबार र विहीबार मनोनयन पत्र जाँच हुनेछ ।

चन्द्रागिरि नगरको उपमेयर पदमा स्वतन्त्र र राजनीतिक दलका गरि १० जनाको उम्मेदवारी दर्ता भएको छ । गत स्थानीय निर्वाचनमा २ स्वतन्त्र सहित १० जनाले चन्द्रागिरि नगरको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका थिए । 

यसपटक १ जनाले नगरप्रमुखको आकांक्षासहित स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदा विभिन्न ९ राजनीतिक दलले आ-आफ्ना प्रतिनिधिलाई चन्द्रागिरि नगरपालिकाको उपमेयरको पदमा उम्मेदवारी दर्ता गर्न लगाएका छन्।

नेपाली काँग्रेसबाट यमुनादेवी श्रेष्ठ, नेकपा एमालेबाट वसन्ती श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट भाइकृष्ण बलामी ले चन्द्रागिरि नगरको उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत थपलियाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

त्यस्तै, माओवादी केन्द्रले रूपा महर्जन श्रेष्ठलाई, नेमकिपाले ज्ञानुमैया दराईलाई, राप्रपाले निरूपा केसी खत्रीलाई, जनता समाजवादी पार्टी नेपालले मैंया महर्जनलाई, राष्ट्रिय जनमोर्चाले रोसन दानीलाई तथा नेपाली कांग्रेस बी.पीले विपना तामाङलाई आसन्न स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको उपमयेर पदमा उठाउने भएको छ ।

चन्द्रागिरि नगरको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्नेमा कृष्ण मानन्धर छन् ।

चन्द्रागिरि नगरमा केन्द्र सरकारका सत्ता साझेदार पाँच दलहरूबीच गठबन्धन बनाई स्थानीय निर्वाचनमा मतदाता सामु जाने निर्णय भएको भनिएपनि हालसम्म मेयर र उपमयेर पदमा कुनै सहमति हुन नसकेको गठबन्धन घटक दलका प्रतिनिधिले जानकारी दिएका छन् ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ