स्थानीय तह निर्वाचनः चन्द्रागिरि नगरको मेयर हुन कस-कसले नाम दर्ता गराए ?

Thankot Times

थानकोट ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले नाम दर्ता गरिसकेका छन् । आज उनीहरूले दर्ता गरेको नाम उपर दाबी विरोध पेशको कार्य भएको छ ।

सोमबार अबेर सकिएको उम्मेदवारको मनोनयन दर्ताको सूची मतदान अधिकृतको कार्यालयमा टाँस गरिएको छ ।

चन्द्रागिरि नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयकी अधिकृत सिर्जना थपलियाले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार चन्द्रागिरि नगरका विभिन्न ७७  पदका लागि ३ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसको बुधबार र विहीबार मनोनयन पत्र जाँच हुनेछ ।

चन्द्रागिरि नगरमा मेयर पदमा स्वतन्त्र र राजनीतिक दलका गरि २१ उम्मेदवारी दर्ता भएको छ । गत स्थानीय निर्वाचनमा ८ स्वतन्त्र सहित १८ जनाले चन्द्रागिरि नगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका थिए । 

८ जनाले नगरप्रमुखको आकांक्षासहित स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदा विभिन्न १३ राजनीतिक दलले आ-आफ्ना प्रतिनिधिलाई मेयरको पदमा उम्मेदवारी दर्ता गर्न लगाएका छन्।

नेपाली काँग्रेसले गत स्थानीय निर्वाचनबाट चन्द्रागिरि नगरको मेयरमा विजयी घनश्याम गिरीलाई नै पुनः दोहोर्याएको छ भने नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा चन्द्रागिरि १५ मा वडाध्यक्ष विजयी भएका उत्तम बहादुर राउतलाई मेयर पदमा उठाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले शुशीला न्याैपानेलाई  चन्द्रागिरि नगरको मेयरमा उठाउँदा माओवादी केन्द्रले दिल बहादुर श्रेष्ठलाई मेयरमा उठाएको छ । राप्रपाले अजय श्रेष्ठलाई, नेमकिपाले किरण महर्जनलाई, नेकपा मालेले कृष्णकुमार श्रेष्ठ, नेपाली काँग्रेसले बी.पी केशवराज शर्मा पाैडेललाई, प्रजातान्त्रिक पार्टी नेपालले गोविन्द श्रेष्ठलाई चन्द्रागिरिको मेयर पदमा मनोनयन दर्ता गराएको छ । त्यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रदीप परियार, जनता समाजवादी पार्टी नेपालबाट रामलाल श्रेष्ठ, समाजवादी केन्द्र नेपालबाट विनोद कुमार तामाङ, नेपाल विवेकशील पार्टीबाट सन्जयचन्द्र श्रेष्ठ ले चन्द्रागिरि नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

चन्द्रागिरि नगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्नेमा शान्ति श्रेष्ठ, विदुर कार्की, वलमान सिंह खड्का, रीना थापा, रामहरि पनेरू, जगदिश रिजाल, उत्तम कार्की र अविरल महर्जन रहेका छन् ।

चन्द्रागिरि नगरमा केन्द्र सरकारका सत्ता साझेदार पाँच दलहरूबीच गठबन्धन बनाई स्थानीय निर्वाचनमा मतदाता सामु जाने निर्णय भएको भनिएपनि हालसम्म मेयर र उपमयेर पदमा कुनै सहमति हुन नसकेको गठबन्धन घटक दलका प्रतिनिधिले जानकारी दिएका छन् ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ