भाइरल भएको साडी बाँड्ने सूचना

थानकोट ।
शुक्रबार साँझ र शनिबार बिहान सामाजिक सञ्जालमा वडा कार्यालयले साडी बाँड्ने सूचना भाइरल भयो । चन्द्रागिरि नगरपालिका वडा नं. ०८ का वडाध्यक्षले दस्तखत गरेको भनिएको उक्त सूचनाले स्थानीय निर्वाचन आचार संहिताको उल्लंघन भएको भन्दै यसको व्यापक आलोचना भइरहेको छ ।
वडा ८ को कार्यालयमा साडी पाउँ भनी आवेदन दिएकोमा सो अनुसार वैशाख १० गते शनिबार वडा कार्यालयमा साडी बाँडिने भएकोले वडा कार्यालयमा उपस्थित भई साडी लिन सकिने उक्त सूचना उल्लेख छ ।
सामाजिक सञ्जालमा भाइरल भएको सूचना
चन्द्रागिरि नगरपालिका वडा नंं ८ का वडाध्यक्ष सन्तोष खड्काले उक्त सूचना भ्रमात्मक भएको भन्दै खण्डन गर्दै सूचना जारी गरेका छन् ।
वडाध्यक्ष खड्काको फेसबुकमा राखिएको सूचना
चन्द्रागिरि नगरपालिकास्थित निर्वाचन अधिकृत सिर्जना थपलियासँग थानकोट टाइम्सले यस सूचनाका बारेमा जिज्ञासा राख्दा यस विषयमा आफुलाई जानकारी प्राप्त भएपछि मातहतको प्रहरी प्रशासनलाई समेत अवगत गराइसकेको बताउनुभयो ।
उता निर्वाचन आयोगले वडाध्यक्षको यो कार्यक्रमले निर्वाचन आचारसंहिता, २०७८ को उल्लंघन गरेको बताएको छ । निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले सेतोपाटी अनलाइनसँग भनेका छन् ‘यो कुरा हाम्रो नोटिसमा आइसकेको छ। यसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ, ‘हामी त्यसलाई तत्काल रोक्न भन्छौं।’