टुंगो लाग्दै उम्मेदवार, आइतबार मनोनयन दर्ताको कार्यक्रम

Thankot Times

थानकोट ।

३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन कार्यक्रम औपचारिक रूपमा आइतबारबाट सुरू हुँदैछ । आइतबार र सोमबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । मनोनयन दर्ताको कार्यक्रम सुरू हुनै लाग्दा मुलुकभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलहरूले उम्मेदवार छनोटलाई निष्कर्षतर्फ धकेलिरहेका छन् । कतै तालमेल कतै एकल उम्मेदवारी टुंगिएको खबरले सञ्चार माध्यम तथा सामाजिक सञ्जाल रंगिन देखिन थालेका छन् । सत्ता  गठबन्धनका पाँच दलले मुलुकभरका महानगर तथा उपमहानगर पालिकामा तालमेल गरि निर्वाचन लड्न पार्टीगत उम्मेदवार भागबण्डा गरिसकेका छन् यद्यपी पार्टीले उम्मेदवार भने चयन गरिसकेका छैनन् ।

चन्द्रागिरिमा समेत सत्ता घटक दलहरूले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् तथापी के कसरी उम्मेदवार भागबण्डा गर्ने भन्ने सन्दर्भमा कुनै निर्णय हुन बाँकी रहेको नेपाली काँग्रेस चन्द्रागिरि नगर समितिका सचिव नविन महर्जनले थानकोट टाइम्सलाई जानकारी दिए । चन्द्रागिरिमा राप्रपाले मेयरका उम्मेदवार टुंगो लगाइसकेको छ भने माओवादी केन्द्रले पनि मेयरका लागि उम्मेदवार टुंगो लगाइसकेको छ । नेकपा  एकीकृत समाजवादीले मेयर पदमा दुई जनाको नाम सिफारिस गरेको भने उपमेयरमा एक जनाको नाम सिफारिस गरेको छ । राप्रपाले अजय श्रेष्ठ तथा माओवादी केन्द्रले रूपा महर्जन श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य दलहरूले भने शनिबार बिहानसम्म नगरप्रमुख तथा उपप्रमुखको टुंगो लाग्न सकेको छैन् । नेपाली काँग्रेस तथा नेकपा एमालेबाट चन्द्रागिरि नगरको प्रमुख तथा उपप्रमुख हुन धेरैले नाम टिपाएपछि अन्तिम निर्णयका लागि माथिल्लो निकायमा सूची बुझाएका  छन् । अधिकांश वडाहरूमा पनि सोही अवस्था रहेको देखिएको  छ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा अध्यक्षका उम्मेदवारको टुंगो लागेको बताइएको छ । नेकपा एमालेले चन्द्रागिरि १ र १५ मा स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष सहित पाँच उम्मेदवार चयन गरिसकेको छ भने नेपाली काँग्रेसले पनि चन्द्रागिरि १ र १५ मा वडाध्यक्षको उम्मेदवार टुंग्याएको छ । राप्रपाले पनि केही वडामा वडाध्यक्ष सहित उम्मेदवारहरूको टुंगो लगाएको खबर छ । चन्द्रागिरि १५ मा सत्तागठबन्धनका तीन दल समावेश गरि उम्मेदवारहरू तय भएको र सो को वडा नेतृत्व नेपाली काँग्रेसका उम्मेदवारले गर्ने बुझिएको छ । अन्य वडाहरूमा भने वडाध्यक्षका आकांक्षी बढ्दा कसले टिकट पाउने सो को शनिबारसाँझ सम्म टुंगो लाग्न सक्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ