वडाध्यक्ष बन्न आकांक्षीहरूको लर्को, एकै पार्टीमा ११ जनासम्मको इच्छा
थानकोट, वैशाख ५ ।
सम्मुखमा रहेको स्थानीय तहको दोश्रो निर्वाचनमा उम्मेदवारहरू छनोट गर्न दलहरूमा सकस परेको छ । आकांक्षीहरूको सूची लामो भएपछि दलहरूमा कसलाई उम्मेदवार बनाई मतदाता समक्ष जाने भन्ने विषयको उल्झन सहजै सुल्झने छाँट छैन् ।
चन्द्रागिरि नगरमा क्रियाशील प्रमुख दलहरूमा नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष पदमा उम्मेदवार बन्न खोज्नेको संख्या लामो रहेको सम्बद्ध दलहरूले बताएका छन् ।
१५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र लगायतका दलले सोमबार बिहानसम्म कुनैपनि वडामा वडाध्यक्षका उम्मेदवार टुंग्याउन सकेका छैनन् । अधिकांश वडामा बहालवाला वडाध्यक्षहरूले दोहोरिन इच्छा देखाएको बताइएको छ । केहि वडामा सर्वसम्मत भएको भनिएपनि स्वतन्त्र पुष्टि हुन सकेको छैन् । तथापी सामाजिक सञ्जालमा असन्तुष्ट पक्षले आक्रोश पोख्ने क्रम भने सुरू भइसकेको छ ।
चन्द्रागिरि नगरमा सत्ता घटक पाँच दलले गठबन्धन बनाई स्थानीय चुनावमा मत माग्ने निर्णय गरेका भएपनि उम्मेदवार चयनको विषय सहज नरहेको बुझिएको छ ।
चन्द्रागिरिमा एकीकृत समाजवादीले आफ्नो दलका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा ३ जनाको नाम टुंग्याएको छ भने राप्रपाले मेयर पदका उम्मेदवार चयन गरिसकेको छ ।
निर्वाचन आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।