नागढुङ्गा-सिस्नेखोला सुरुङ निर्माण ५ दिनदेखि ठप्प

थानकोट, वैशाख ३ ।
चन्द्रागिरिस्थित नागढुङगागा-सिस्नेखोला सुरुङ निर्माण विगत पाँच दिनदेखी ठप्प छ । सुरूङ खन्न थालेपछि स्थानीय पानीका मुहान सुकेको भन्दै चन्द्रागिरि नगरपालिका-२ का स्थानीयले निर्माणमा अवरोध गरेका हुन् । गत चैत २८ र २९ मा स्थानीयले चन्द्रागिरि २ स्थित टुटेपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । यही वडाका स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढ्न दिएका छैनन् ।
यसअघि स्थानीयले २०७७ फागुनमा आजीवन निःशुल्क खानेपानीको व्यवस्थापन गर्नुपर्ने लगायत ८ बुँदे माग आयोजना समक्ष राखेका थिए । तर आफूहरूका माग पूरा नगरिएको वडा नम्बर २ वडा अध्यक्ष गोपी सुर्खेतीले बताए । खानेपानी लगायतका माग राखेर निर्माण कम्पनीको कार्यालय पुग्दा प्रहरीले हस्तक्षेप गरेपछि झपड भएको उनको दाबी छ ।
चन्द्रागिरिस्थित सुरूङ मार्ग निर्माण कम्पनीको कार्यालयमा तैनाथ सुरक्षाकर्मीहरू । तस्बिरः सामाजिक सञ्जालबाट ।
वडाध्यक्ष सुर्खेतीकै नेतृत्वमा गएको टोलीले कार्यालय तोडफोड गरेको आयोजना स्रोतको दाबी छ इकान्तिपुरमा खबर छ । तर सुर्खेतीले भने आफूहरूले केही तोडफोड नगरेको बताए । वार्तामा बसिरहेका बेला स्थानीयमाथि प्रहरी हस्तक्षेप हुँदा स्थानीय आक्रोशित बनेको उनको भनाइ छ । वार्ताबाट समस्या समाधानको प्रयास भइरहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए । ‘तीव्र गतिमा निर्माणको काम भइरहेको समयमा अचानक अहिले आएर काम रोकिएको छ,’ उनले भने, ‘वार्ता भइरहेकाले छिट्टै समस्या समाधान भएर निर्माणको काम अघि बढ्छ ।’
पानीको समस्या भएका ठाउँमा सुक्खायाममा आयोजनाले डेढ महिनासम्म ट्यांकरबाट पानी उपलब्ध गराउने शाक्यले जनाए । ‘पानी तान्ने पम्प परिवर्तन गर्ने र त्यसका लागि एउटै पम्पको डेढ/दुई करोड रुपैयाँ पर्ने रहेछ,’ उनले भने, ‘यसका लागि अध्ययन गरेर काम गर्नुपर्छ ।’ पम्प जडान हुने बेलासम्म सुक्खायाममा ट्यांकरबाट पानी उपलब्ध गराइने उनको भनाइ छ । ‘अहिले प्रतिदिन ५ ट्यांकर पानी उपलब्ध गराइराखेका छौं,’ शाक्यले भने, ‘त्यसले नपुगे प्रतिदिन १० ट्यांकर पानी दिन तयार छौं ।’ तर आफूहरूका माग पूरा भएनन् भनेर कार्यालय तोडफोड गर्नु गलत रहेको उनले बताए ।
काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग एक हजार १०६ मिटर र निकासी सुरुङमार्ग एक हजार ३८४ मिटर खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार, अहिलेसम्म मुख्य र सहायक सुरुङ गरी दुई हजार ६६४ मिटर सुरुङमार्ग खनिएको छ।