सांसद् केसी काँग्रेसको सामाजिक सञ्जाल उपसमिति संयोजक
थानकोट, वैशाख २ ।
वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूको व्यस्तता बढ्दै गएको छ । काम बाँडफाँटका सूचना दलहरूले दिनहुँ प्रकाशित गर्न थालेका छन् । कसरी मतदाता आकर्षित गर्ने भन्ने ध्याउन्नमा दलहरूले समय तथा पैसा खर्चन थालेका छन् । सामाजिक सञ्जालमा पनि दलहरूले राम्रो लगानी गरेको देख्न पाइन्छ । केहि दिन अघि नेकपा एमालले टिकटक प्रतियोगिताको घोषणा गर्दै विजेतालाई नगद ३ लाख रूपैयाँ दिने घोषणा गरेको थियो भने शुक्रबार नेपाली काँग्रेसले निर्वाचन लक्षित गीत लेखन प्रतियोगिता घोषणा गर्दै विजेतालाई २ लाख ५० हजार रूपैयाँ दिने बताएको छ ।
त्यस्तै, नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई केन्द्रित गरि सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्न आफ्ना केन्द्रीय सदस्यलाई नै जिम्मेवारी दिएको छ । काठमाण्डाै क्षेत्र नं. १० का सांसद् राजेन्द्रकुमार केसीले नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिको मोर्चा सम्हाल्ने बताइएको छ । शुक्रबार नेपाली काँग्रेसका कार्यालय मुख्यसचिव कृष्णप्रसाद पाैडेलद्धारा जारी विज्ञप्तीमा केसीलाई उक्त पार्टीको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति संयोजकको जिम्मेवारी दिएको उल्लेख छ ।