बागमती प्रदेशमा एक वर्षमा २ हजार ४०७ सवारी दुर्घटना, ३ सय ६० जनाको मृत्यु

थानकोट, बैशाख २ ।
वर्ष २०७८ मा बागमती प्रदेशमा भएका सवारी दुर्घटनामा ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै ३ हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा २ हजार ४०७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २०१ मोटरसाइकल दुर्घटनामा परेका हुन् । यस्तै जीप, कार र भ्यान ३६३, ट्रक, ट्याङ्कर ३०२, बस १६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उनले बताएको राससको खबरमा उल्लेख छ ।